Sunday, July 4, 2010

श्रीमतीको मन पगाल्ने तरिका

श्रीमतीको मन पगाल्ने तरिका

02/07/2010 From Naya Patrika National Daily

- कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस्

- हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सर्‍याइदिनूस् ।

- आफ्ना साथीभाइसित

परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।

- बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् ।

- तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् ।

- उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् ।

- उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् ।

- बाथरुममा बच्चालाई जस्तै शिरदेखि पंैतालासम्म नुहाइदिनूस् ।

- फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित यौनक्रियाकलाप गर्नूस् ।

- फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् ।

- आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनूस् ।

- उनलाई पन पर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।

- कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।

- टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र लुगा फुकालिदिनूस् ।

- उनलाई इमेल पठाउनूस् । जे लेखे पनि हुन्छ ।

- प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् ।

- छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस् ।

- उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् ।

- तपाईंलाई मन पर्ने खेल हेर्न रंगशाला लैजानूस् । तर, खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नूस् ।

- उनी इश्र्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् ।

- उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।

- उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउटा कपाल पुछ्नलाई ।

- कुराकानीका बीचमा 'आई लभ यू' भनिदिनूस् ।

- अफिसबाट फकिर्ंदा चकलेट-सकलेट ल्याइदिनूस् ।

- उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।

- भित्तामा उभ्याएर माया साट्नूस् ।

- तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।

Tuesday, June 1, 2010


यसरी खिचियो यो चर्चित फोटो
01/06/2010 08:33:00 Naya Patrika
Font size: Decrease font Enlarge font
image

राजेन्द्र मानन्धर
फोटो पत्रकार


आन्दोलन चर्किंदै गर्दा दमन पनि बर्बर बन्दै थियो । २४ चैत ०६२ देखि सुरु भएको आन्दोलन ७ वैशाखसम्म आइपुग्दा दर्जनौँ स्थानमा धरपकड र झडपका घटना बढेका थिए । खासगरी काठमाडौंको कलंकी क्षेत्रमा पटक-पटक झडप भएका घटना सुनिन थाले ।

rajendra-manandharसाथी तेज बस्नेत, बंगलादेशी पत्रकार सहेब उद्दिन र मैले ६ गते रातिदेखि नै कलंकीस्थित मेरो साथीको घरमा पुगेर रात बितायौँ । ७ वैशाखका लागि हामी फोटो पत्रकारलाई मात्र होइन, एम्बुलेन्सलाई पनि प्रहरी प्रशासनले कफ्र्युपास उपलब्ध गराएन ।

त्यो बिहान ४ः३० नै कलंकी क्षेत्रमा आन्दोलनकारीको चहल-पहल सुरु भएको थियो । मान्छे हँसिया-हथौडा र चारतारा अंकित झन्डा बोकेर सडकमा ओर्लिन थालेका थिए । यदाकदा नाराबाजी पनि सुरु भइसकेको थियो । यो परिदृश्य मेरा आँखामा परेपछि मैले बसेको घरको झ्यालबाट बाहिर निहाल्न थालेँ । घरीघरी मैले मेरो क्यामेराको 'भ्यु फाउन्डर'बाट हेर्दै तस्बिर खिच्ने जमर्को गरिरहेको थिएँ ।

म बसेको घर कलंकी चक्रपथबाट मुस्किलले पाँच सय मिटर दक्षिणतर्फ थियो । हामीले झ्यालबाट हेरेको घरवरिपरि रहेका प्रहरीले देखेका थिए । उनीहरू भन्दै थिए, 'झ्यालबाट हेर्ने होइन । घरभित्रै बस्ने ।' त्यो क्षेत्रमा सशस्त्र, नेपाल प्रहरी र तत्कालीन शाहीसेनाको भारी दस्ता उपस्थित थियो । जसले हामीलाई खबरदारी गरिरहेका थिए, उनीहरूलाई हामी फोटो पत्रकार हौँ भन्ने राम्ररी थाहा थियो । तैपनि उनीहरूले हामीलाई पटक-पटक धम्क्याइरहेका थिए । मैले सुरक्षाकर्मीको अनुहार नियालँे, उनीहरू अलिक बढी आक्रोशित देखिन्थे । हामीले ठान्यौँ- आन्दोलन दबाउन सरकारले अलिक कडै निर्देशन जारी गरेको छ । पक्कै पनि कुनै पनि वेला झडप हुन सक्छ ।

चक्रपथसम्म कफ्र्यु थियो । तैपनि हामी रहेको घरसम्म कडा सुरक्षा व्यवस्था झेलिरहेका थियौँ, हामीले । हामीलाई झ्यालबाट बाहिर हेर्न पनि नदिएपछि हामी भित्रै बस्यौँ । बिहान सात बज्दै गर्दा स्थानीय बासिन्दा नाराबाजी गर्दै चोक-चोक र गल्लीमा अलिक बाक्लै रूपमा जम्मा हुन थाले । हामी पनि बाहिर निस्कियौँ । सामान्य झडप र खबरदारीबाहेक अरू केही भएन, बिहान दस बजेसम्म । यसबीचमा हामीले आन्दोलनकारीका केही तस्बिर खिचिसकेका थियौँ ।

बिहान १० बजेपछि स्थानीयवासी, आन्दोलनकारी खाना खान लागे । प्रदर्शन केही पातलिँदै गयो । हामी पनि कलंकी खोलाको तीरैतीर ट्याङलाफाँट हुँदै कीर्तिपुर पुग्यौँ । हामीलाई कीर्तिपुर क्षेत्रमा भएको प्रदर्शनको अवस्थाबारे जानकारी लिनु थियो । तस्बिर खिच्नु थियो ।

भोकले लखतरान परेको हाम्रो टोलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय होस्टेलका विद्यार्थीले खाना खाने होटलमा खाना खायो । आन्दोलनकै कारणले होला त्यहाँ हामीले खानाको प्रतिव्यक्ति २ सय १० रुपैयाँ तिर्नुपर्‍यो । होटलबाहिर निस्कने क्रममा एकजना मानवअधिकारवादी कार्यकर्ताले कीर्तिपुरबाट दिउँसो आन्दोलनकारीहरू कलंकी पुग्ने र त्यहाँ कफ्र्यु तोड्ने कार्यक्रम बनाएको जानकारी हामीलाई दिए । जानकारी पाएपछि हामी जुलुस कुरेर बस्यौँ । नभन्दै यति छिटो सयौँ आन्दोलनकारी कीर्तिपुरमा जम्मा भए कि, हामीले त्यो अनुमानसमेत गरेका थिएनौँ ।

आन्दोलनकारीको अनुहारमा पनि अनौठो प्रकारको जोश र आक्रोशको प्रतिच्छाया देख्न सकिन्थ्यो । दमन बढ्दै गएपछि आन्दोलनकारीमा पनि त्यहीअनुरूपको आक्रोश बढ्दोरहेछ । हामी पनि जुलुससँगै ट्याङलाफाँट हुँदै कलंकी खोलामा आइपुग्यौँ । त्यहाँ दुईवटा बाटा थिए । एउटा बाटो खसीबजार पुग्ने र अर्को कलंकी पुग्ने ।

कलंकी खोलाको पुलमा हामीले कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन पुनम बाँस्कोटा र अन्य दुई पत्रकारलाई भेटयौँ । पुनमले आन्दोलनकारीले दुईवटा समूह बनाएर दुईवटै बाटा तताएको जानकारी दिइन् ।

पुनम र उनीसँग रहेका पत्रकार साथीहरूले खसीबजारतिर जाने निर्णय गरे । मैले उता अलिक कडा स्थिति छ, नजानूस् भनेको थिएँ । पुनमहरूले मानेनन् र उतै गए । हामी कलंकीतर्फ लाग्यौँ । खसीबजारतर्फ गएको जुलुसमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेछ । त्यसै क्रममा पुनम र उनीसँग रहेका रिपोर्टरलाई प्रहरीले नियन्त्रणमा लिई उनीहरूको गाडीमा राख्यो भन्ने खबर पायौँ, हामीले । हामीले यो खबर अन्य मिडियाका साथीलाई सर्कुलर गर्ने प्रयास गर्‍यौँ ।

चर्को घाम थियो । आन्दोलनकारी असिनपसिन हुँदै नाराबाजी गरिरहेका थिए । घरीघरी घरका झ्यालबाट स्थानीयवासीले आन्दोलनकारीलाई पानी छयापेर सहयोग गर्थे । कलंकी चोकवरिपरि आन्दोलनकारीमात्र होइन, त्यत्तिकै मात्रामा सुरक्षाकर्मी पनि परिचालित थिए । सेनाका टयांक पनि चोकचोकमा राखिएका थिए ।

हामी कलंकी क्षेत्रमै थियौँ । अन्दाजी एक बजेको थियो । आकाशमा हेलिकप्टरको आवाज आयो । र, हेलिकप्टर हामीमाथि नै आइपुग्यो । एकछिन् घुमेर हेलिकप्टर फर्केपछि सशस्त्र प्रहरी बलले एक्कासि भीडमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गर्‍यो । झडप भइरहेकै वेला हाम्रो ग्रुपमा अर्का फोटो पत्रकार शालिकराम तिवारी पनि मिसिए । हामी चारजना भयौँ । मनोबल बढेजस्तो भयो । र, हामी सबैले बाइकको हेलमेट लगायौँ ।

सुरक्षाकर्मीले अझै पनि लाठी र अश्रुग्यास बर्साइरहेका थिए । चक्रपथदेखि लगभग पाँच सय मिटर दक्षिणतिर राति हामी बसेको घरको झ्यालमा अडेस लागेर फोटो खिच्दै थिएँ, म । मेरो सीधै मुनि कलंकीको ढल बग्ने खाल्डो थियो । प्रहरीको लाठी र अश्रुग्यासबाट बच्नका लागि भाग्ने क्रममा लगभग १५/२० जना आन्दोलनकारी त्यही ढलको खाल्डोमा परे । ढलको खाल्डोमा अलमलिएका आन्दोलनकारीमाथि प्रहरीले यतिसाह्रो लाठी र बुट प्रहार गरिरह्यो कि, अहिले पनि त्यो सम्झँदा मेरो आङ सिरिंग भएर आउँछ । झन्डै २० मिनेटसम्म दर्जनाँै प्रहरीले डेढ दर्जन आन्दोलनकारीलाई निरन्तर बल प्रयोग गर्दाको दृश्य कस्तो थियो होला, अनुमान मात्रै काफी हुन्छ ।

यो लगत्तै म झ्यालबाट झरेर साथीहरू भएको ठाउँमा पुगेँ । हामी बिस्तारै सडकपारि पुग्यौँ । हामीले प्रेसले लगाउने पहेँला रंगका ज्याकेट भिरेका थियौँ । र, सबैले क्यामेरा बोकेका थियौँ । सडक पार गर्नेबित्तिकै हामीले अचेत अवस्थामा चरम घाइते एक आन्दोलनकारीलाई भेट्यौँ । उनी सडककिनारामा चर्को घाममा लडिरेहका थिए । सुरक्षाकर्मीहरू वरिपरि भए पनि खासै ध्यान दिएको देखिएन । उसको अनुहारमा पोतिएको रगत र शरीरभरि नीला डाम देख्दा मलाई लाग्यो, यो ज्युँदो छैन । मेरो मुटु ढक्क फुलेर आयो । कतिपय अवस्थामा फोटो पत्रकारलाई यति ठूलो धर्मसंकट पर्छ कि फोटो खिच्नु कि नखिच्नु ? तैपनि संवेदनशीलतालाई कायम गर्दै हामीले पेसाका लागि पनि तस्बिर लिनैपर्छ, चाहे अवस्था जस्तोसुकै होस् ।

उनको फोटो खिचेर अगाडि बढ्न खोज्दा मेरा बंगलादेशी मित्र उसको आँखाको एक्स्प्रेसन खिच्न खोज्दै थियो । तर, तस्बिर खिचेको देखेपछि प्रहरीको एउटा समूह हामी भएतिर हान्निदै आयो । हामी प्रहरीको त्यो समूहलाई झुक्याएर अगाडि बढ्यौँ ।

सडकैसडक हामी लिकअगाडि बढ्दै थियौँ । केही मिटर परमात्र कफ्र्यु नलागेको क्षेत्रमा रहेका घरघर पुगेर प्रहरी धरपकड गरिरहेका रहेछन् । कोठाकोठामा पुगेर मान्छे थुत्दै, निर्मम पिटिरहेका रहेछन् । प्रहरीले आन्दोलनकारीलाई घरको ढोकावरिपरि 'फ्लाइङ किक' हानेको देख्यौँ, हामीले । त्यो दृश्य कैद गर्ने क्रममा प्रहरीको एउटा समूह आएर मलाई अपशब्द प्रयोग गर्दै 'दुई/चारजना पत्रकार मरे पनि केही हुँदैन, ठोक-ठोक' भन्दै ममाथि जाइलाग्यो । आक्रोशले चूर भएका प्रहरीसँग माफी माग्नुबाहेक हामीसँग कुनै उपाय थिएन । हात जोड्दै हामी आन्दोलनकारी भएको साइडतिर लाग्यौँ ।

अगाडि बढ्दै गर्दा एसएसपी दुर्जकुमार राई भेटिए । उनले प्रहरीको एउटा समूहलाई नेतृत्व दिइरहेका रहेछन् । उनले प्रहरीलाई केही 'बि्रफिङ' गरिरहेका थिए । शालिकरामजीले हामीमाथि भएको प्रहरी दुव्र्यवहारबारे एसएसपी राईलाई जानकारी गराए । राईले पत्रकारलाई केही नगरौँ भनेर आफू अगाडि भएका प्रहरीलाई भने ।

त्यसपछि हामी थोरै अगाडि बढ्दै थियौँ, सुरक्षाकर्मी आन्दोलनकारीलाई थ्री नट थ्री ताकिरहेका थिए । आन्दोलनकारीको भीडबाट केही आन्दोलनकारीले 'जनता मरिसके, तपाईं केको समाचार बनाउनुहुन्छ ? क्यामेरा फालिदिनूस्, आउनूस् हामीसँगै बसेर आन्दोलन गर्नूस्, देशलाई मुक्ति दिनूस्' भने । त्यसैक्रममा मैले भनेँ, 'हेर्नूस्, तपाईंहरू आन्दोलन गरिरहनुभएको छ, यसको म्यासेज हामीले आमजनतालाई मात्र होइन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउँछौँ । तपाईंहरू आफ्नो ठाउँबाट आन्दोलन गर्नूस् र हामी आफ्नो ठाउँबाट आन्दोलन गर्छौं ।'

यतिवेलासम्म लगभग पौने २ बजिसकेको थियो । प्रहरी दमन र शाहीसत्ताविरुद्ध चर्का नाराबाजी भइरहेका थिए । ठाउँठाउँमा झडप र ढुंगा हानाहानको स्थिति देख्न सकिन्थ्यो ।

आन्दोलनकारीसँग मिसिँदा पनि हामीलाई खतरा थियो, प्रहरीको साइडमा झन् बस्ने कुरै भएन । हामी बिस्तारै कलंकीचोकदेखि दक्षिणतिर रहेको बाबा पेट्रोलपम्पअगाडि पुग्यौँ । र, म एउटा घरमा छिरेँ । घरको सिँढीमा चढ्दै गर्दा आलो रगत बगिरहेको देखेँ । मलाई शंका लाग्यो, पक्कै यहाँ केही गडबड छ । म अझै माथि चढेँ । त्यहाँ लगभग १५/२० जना आन्दोलनकारी रगताम्मे भएर लडिरहेका थिए । कोही बेहोस थिए । कोही छटपटाइरहेका थिए । त्यहाँ घाइते र बेहोस भएकालाई पानी ख्वाउने कोही थिएनन् । छटपटाइरहेका घाइतेले आफूहरूलाई आन्दोलनकारीसम्म भएको स्थानसम्म पुर्‍याइदिन मसँग आग्रह गरे । मैले भनेँ, 'बाहिर स्थिति अत्यन्तै तनाबग्रस्त छ । प्रहरी छयाप्छयाप्ती छन् । अहिले बाहिर जान सम्भव छैन । तपाइर्ंहरू नआत्तिनूस् ।' मैले तस्बिर लिँदै गर्दा त्यही स्थानमा काठमाडौँ पोस्टमा काम गर्ने एकजना महिला मित्र पनि आइपुगिन् । उनी पनि अत्तालिएकी थिइन् । भन्दै थिइन्, 'मलाई पुलिसले धेरै अपशब्द बोले, गाली गरे ।' उनीसँग मैले घाइतेको उद्धारबारेमा कुराकानी गर्दै गर्दा मेरो समूहमा रहेका विदेशी फोटो पत्रकार मित्र पनि हामीसँगै आइपुगे ।

हामीले बेहोस घाइतेलाई पत्रिकाले शरीर छोप्यौँ । यसरी छोपेपछि प्रहरीले थाहा नपाओस् र थप बल प्रयोग गर्ने अवस्था नआओस् भनेर हामीले यसो गरेका थियौँ । किनभने हामीले ठाउँ-ठाउँमा प्रहरीले घाइतेमाथि थप बल प्रयोग गरेको देखेका थियौँ ।

बाहिर आन्दोलनकारीले झन् उत्तेजित नारा लगाइरहेका थिए । 'सक्छस् भने गोली हान्, छाती थाप्न तयार छौँ' भन्ने नारा चारैतिर गुन्जिरहेका थिए ।

यस्तै, २ बज्न एकाध मिनेट मात्र बाँकी थियो, पेट्रोलपम्पको ठीक अगाडि फोटो पत्रकार मित्र शालिकराम र तेज बस्नेतको अगाडि नै एसएसपी दुर्जकुमार राईले बेल्टमा झुन्डिरहेको पेस्तोल निकालेको अलिक वरबाट मैले देखेँ । घरको ओझेल परेर मैले त्यो दृश्य नियालिरहेको थिएँ । आक्रोशले चुर भएका एसएसपी राईले पेस्तोल निकालेर टि्रगरमा औँला राख्दै गर्दा मैले मेरो क्यामेरा 'रेडी पोजिसन'मा ल्याएँ । हेर्दाहेर्दै उनले लगातार फायरिङ गरे । उनले आन्दोलनकारी समूहलाई निसानामा राखेर फायरिङ गरिरहेका थिए । गोली चलाउँदै गर्दा उनको अनुहार अमिलो खाएर बिग्रेजस्तो देखिएको थियो, जसलाई मैले खिचेको तस्बिरमा देख्न सकिन्छ । उनले लगातार फायरिङ गर्दैगर्दा मेरा दुई मित्र तेज र शालिकराम गोलीको आवाज थाम्न नसकेर छेउ लागेका थिए । उनीहरू पनि तस्बिर त खिच्न खोज्दै थिए, तर एसएसपी राईले नजिकै थिए । आफ्नो अगाडि नै गोली चलाइरहेको हुनाले साथीहरूले आवाज थेग्न सकेनन् । र, साइड लागेर कान थुनेर बसे । यो परिदृश्य मेरो तस्बिरबाट पनि पत्तो पाउन सकिन्छ ।

घरको चेपमा लुकेर यो फोटो क्यामेरामा कैद गर्दा मैले निकोन डि-१०० क्यामेरा प्रयोग गरेको थिएँ । लेन्स ८०/२०० एमएमको थियो भने एफ नम्बरः ६.३ र क्यामेराको स्पिड ः १/१६० सेकेन्ड थियो ।

एसएसपी राईले आन्दोलनकारीलाई ताकेर फायरिङ गरेको फोटो त खिचियो, तर मलाई अरू डर लाग्न थाल्यो । घरको छेल पारेर मैले क्यामेरामा ती फोटा 'हाइड' गरेँ । गोली चलेपछि बाहिर मान्छे मरे भन्ने हल्ला चल्यो । र, म बाहिर निस्किएँ ।

बाहिर सडकमा आएपछि एकजना पुलिसले फोटो खिचेको शंकामा मेरो क्यामेरा नियन्त्रणमा लियो । र, फोटो देखाउन भन्यो । मैले फोटो 'प्ले' गरेर देखाएँ । त्यहाँ उसले खोजेको फोटो नभेट्टाएपछि क्यामेरा फिर्ता दियो । अलि अगाडि सुरक्षाकर्मीको बाक्लो लाइन थियो । हामी पत्रकार जम्मा भयौँ । अगाडि जाने निर्णय गर्‍यौँ ।

हामी सुरक्षाकर्मीको लाम छिचोलेर अगाडि बढ्दै गर्दा कुनै बेहोस घाइतेलाई पत्रिकाले छोपेर राखेको देख्यौँ । उसले हातमात्रै देखिएकाले त्यहाँ कुनै घाइते लडिरहेको छ भन्ने अनुमान लगाउन गाह्रो भएन । हामी अगाडि बढेर ती व्यक्तिलाई हेर्न चाहेको कुरा चाल पाएपछि सुरक्षाकर्मी अलिक पछि हटे । हामीले पत्रिका हटाएर हेर्‍यौँ, एउटा व्यक्ति रगताम्मे अवस्थामा लडिरहको देखियो । हामीले तस्बिर लियौँ । हामीले पछि थाहा पायौँ, हामीले तस्बिर लिएका ती व्यक्ति सगुन ताम्राकार रहेछन् । तस्बिर लिँदै गर्दा हामीलाई थाहा भयो, उनी सहिद भइसकेका छन् । पत्रिका हटाएर हेर्दा हामीले सगुनको छातीमा गोली लागेको र रगत बगिरहेको देख्यौँ ।

त्यसपछि हामीले सल्लाह गर्‍यौँ । यो शव आन्दोलनकारीले देखे भने आन्दोलन झन् उत्तेजित हुन्छ, स्थितिले अर्कै रूप लिन्छ भन्ने सल्लाह गरेर एसएसपी दुर्जकुमार राईलाई सगुनको शव अस्पताल लैजान आग्रह गर्‍यौँ । उनले रेडक्रसका स्वयंसेवक बोलाए । उनीहरूले शवलाई स्टे्रचरमा राखेर कलंकीचोकतर्फ लगे । यसैक्रममा तामाङ एम्बुलेन्स आयो । सायद त्यसैमा सगुनलाई पठाइएको थियो । त्यसपछि हामी आफू कार्यरत संस्थामा फोटो कसरी पठाउने भन्ने सल्लाह गर्दै थियौँ ।

त्यसैक्रममा इन्सेकका एक फोटोग्राफर त्यहाँ आइपुगे । स्युचाटारमा रहेको इन्सेक कार्यालयबाट हामीले आफूले खिचेका फोटा सञ्चारमाध्यमका लागि पठाउन सुरु गर्‍यौँ ।

फोटा इमेल गरिसकेपछि हामी कलंकी फर्क्यौं । लगभग साँझ साढे ७ बजिसकेको थियो । हामी चारजना सडकपेटीमा बसिरहेका थियौँ । साह्रै थाकेका थियौँ । पानी प्यास लागिरहेको थियो । हामी अब गएर आराम गरौँ भन्ने निर्णयमा अघिल्लो रात बेलुका बसेको घरमा गयौँ । हामी त्यहाँ गएको प्रहरीले थाहा पाएपछि हामीलाई तलबाट बाहिर निस्कन चेतावनी दिए । केही छिन उनीहरू फर्केलान् भनेर हामी चुप लागेर बस्यौँ । उनीहरूले ढोका ढक्ढक्याए । हामी डराएर झयालबाट हामफालेर इन्सेकको स्युचाटारस्थित कार्यालय पुग्यौँ । त्यहीँ रारा चाउचाउ किनेर खायौँ र रात काटयौँ ।

भोलिपल्ट बिहान कलंकी पुग्दा फोन आयो । 'राजेन्द्र, तिम्रो फोटो त एउटा दैनिकलगायत अन्य वेबसाइटमा इन्सेकको नाममा आएको छ त ?' फोटो पत्रकार कुमार श्रेष्ठले मलाई यो जानकारी गराए । मलाई अचम्म लाग्यो । पत्रिका हेरेपछि मलाई एकदमै दुःख लाग्यो । मानवअधिकारसम्बन्धी काम गर्ने संस्थाले मेरो मानवअधिकार हनन गरेजस्तै लाग्यो । दिनभरि पानीसमेत नखाई-नखाई अश्रुग्यास र प्रहरीको दुव्र्यवहार सहँदै खिचेको फोटो अर्काको नाममा छापिँदा एकदमै दुःख लाग्नु स्वाभाविक थियो । तत्कालै इन्सेक कार्यालय पुगेँ । त्यहाँका एक कर्मचारीलाई मैले सो फोटो व्यक्तिगत प्रयोगका लागि मात्रै भनेर उनैको अनुरोधमा दिएको थिएँ । यदि फोटो कहीँ प्रकाशित गर्नुपरेमा म र मेरो पब्लिकेसनको नाम उल्लेख गरी प्रकाशित गर्ने वचन दिएका थिए उनले । त्यहाँ पुगेर मैले गुनासो गर्दा उनले उल्टै मलाई झपारेर पठाए । मलाई लागेको थिएन मानवअधिकारसम्बन्धी काम गर्ने संस्थाले यस्तो गर्ला भनेर । र, म पछि काठमाडौं जिल्ला अदालत गएर प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा हालेँ । पछि, अदालतले मेरो पक्षमा फैसला गर्‍यो र इन्सेकले मसँग माफी माग्यो ।

यो तस्बिरबाट ०६२/६३ को आन्दोलनलाई मूर्तरूप दिन ठूलो भूमिका खेलेको भन्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातबाट पदक र ताम्रपत्र पाएको थिएँ ।

ज्यान नै जोखिममा राखेर गणतान्त्रिक आन्दोलनमाथि बर्बर दमन गरिएको यस्तो तस्बिर खिचियो । यही तस्बिर कैद गरेकाले मलाई आन्दोलन सफल पार्न सघाएको भन्दै स्वर्णपदकसहित सम्मानित पनि गरियो, तर यही तस्बिरमा देखिएका दोषीलाई गणतान्त्रिक नेपालका राष्ट्रपतिले पुरस्कृत गर्ने खबर सुन्दा साह्रै दुःख लागेको छ ।

प्रस्तुतिः श्रीधर पौडेल

mevaisp@gmail.com